असार मसान्तको बादलले छोपेको शेयर बजार साउन देखि उघ्रिने, यी कारणले उघ्रिने अनुमान लगाइँदै
असार मसान्तको बादलले छोपेको शेयर बजार साउन देखि उघ्रिने, यी कारणले उघ्रिने अनुमान लगाइँदै
Jul 11, 2023 06:51 PM merolagani
सुवास निरौला
जेठमा कस्सिएर बढेको शेयर बजार असारको मध्यदेखि माथि उक्लिन सकिरहेको छैन। असार मासान्त नजिकिँदै गएकोले शेयर बजारमा बादल मडारिएको बताइएको छ। तर असार सकिए लगत्तै शेयर बजार उघ्रिने अनुमान लागाइदै छ।
“अहिले असारको क्लोजिङ चलिरहेको छ। त्यसले गर्दा केही मानिसहरूले शेयर बेचिरहेका हुन्। उनीहरूले शेयर बेच्दा बजारमा प्रेसर परेको मात्रै हो। असार सकिएलगत्तै बजारले आफ्नो लय समाउने अनुमान गर्न सकिन्छ ” नेपाल स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष भरत रानाभाटले मेरो लगानी सँग भने।
असार मसान्त नजिकै गर्दा शेयर बेचेर पैसा आउने दिनसम्म बिक्री चाप रहे पनि त्यो अब धेरै दिन नरहेको बताइएको छ। मंगलबारसम्म शेयर बेच्नेले शुक्रवारसम्म पैसा पाउँदा आइतबार गर्जो टार्ने अवस्था रहन्छ। तर त्यसपछि बिक्री गर्नेले खासै गर्जो टार्न नसक्ने भएकोले पनि मंगलबारसम्म बिक्री चाप पर्न सक्ने अनुमान लगाइएको हो।
साउनदेखि शेयर बजारले लय समात्ने अनुमान लगाइएको छ। जसमा बैंकले ऋण प्रवाहमा तीव्रता दिने,मौद्रिक समीक्षा आउने,व्याजदर घटेर आउने,पर्याप्त तरलताका कारण पनि बजार बढ्ने अनुमान लगाइएको हो। “बैंकहरुले लेन्डिङ गर्ने उपरयुक्त समय भनेको पहिलो क्वाटर नै हो। उनीहरूले पहिलो क्वाटरमा धेरै लगानी गर्दा वर्षभरि व्याज आउने हुन्छ। जसले गर्दा पनि पहिलो क्वाटरमा ऋण प्रवाह बढ्छ। अहिले अन्तिम क्वाटर र क्लोजिङको समय भएकोले पनि बैंकहरु थप लगानी गर्ने भन्दा पनि असुलीमा बढी केन्द्रित भइरहेका छन्। साउनमा मौद्रिक नीति आउने छ। यसपाली पहिलेको भन्दा कसिलो नीति आउने सम्भावना छैन। केही खुकुलो नै मौद्रिक नीति आउने छ। अर्को तर्फ बैंकको व्याजदर समेत घटेर आउने छ। जसले बजारलाई सपोर्ट नै गर्ने छ भने अर्को तर्फ यति बेला बैंकसँग पैसै पैसा छ। जुन पैसा बजारमा नलगाए बैंकसँग विकल्प नै हुने छैन। यी आधारहरूले पनि साउनमा बजार राम्रै हुने अनुमान लगाउन सकिन्छ” रानाभाटले भने।
शेयर बजारमा चौथो त्रैमासले फरक पार्ने भएकोले पनि शेयर बजार साउनमा बढ्छ नै भन्ने लगानीकर्ताहरू प्रशस्त भेटिन्छन्। खासगरि अन्तिम त्रैमास पछि कुन कम्पनीले के कति लाभांश दिन्छन् भन्ने यकिन गर्न सकिने भएकोले पनि लगानीकर्ताको आकर्षण साउनमा बढी हुने गर्छ। तर साउनमा शेयर बिक्री गरौला भनेर पहिले नै शेयर किनेर बसेका लगानीकर्ता हाबी नहोलान् भन्न सक्ने स्थिति भने हुँदैन। शेयर बजारलाई लगानीकर्ताको मनोभावनाले बढी डोर्याउने भएकोले पनि त्यस बेला लगानीकर्ता कस्तो स्थितिमा हुन्छन् भन्ने विषयले शेयर बजार साउनमा बढ्ने वा घट्ने निश्चित हुने छ।
Comments
Post a Comment