सेयर कुन बेला बेच्ने अनि कस्तो बेलामा बेच्दै नबेच्ने ?
समिर गौतम
काठमाडौं : सेयर बेच्नका लागि पनि सही र गलत कारणहरु हुने गरेका छन् । सही कारणका लागि हो भने सेयर बिक्री गर्नुलाई राम्रो मान्न सकिन्छ । तर कुनै स्टकको भाउ बढ्यो वा घट्यो भन्दैमा स्टक बेचिहाल्नुलाई भने सामान्यतयः एक खराब विचारकै रुपमा हेरिन्छ । यद्दपि, अन्य कतिपय अवस्थाहरु हुन्छन् जसले एक वा बढी बिक्री आदेशहरु राख्नुलाई पनि पूर्णरुपमा औचित्य प्रदान गर्दछन् ।
छोटो–छोटो अवधिमा सेयर कारोबार गर्नेहरुले निरन्तर खरिदबिक्री गर्नु स्वाभाविक नै भएपनि लामो समय वा दीर्घकालीन लगानी गर्नेहरुका लागि भने सेयर कहिले र कुन अवस्थामा बिक्री गर्ने भन्ने कुराले ठूलो महत्व राख्दछ ।
सेयर बिक्री गर्नुका राम्रा कारणहरु, कस्तो अवस्थामा नाफा वा नोक्सानमै पनि सेयर बिक्री गर्ने र कुन परिस्थितिमा सेयर बेच्नु हुँदैन भन्ने बारे लगानीकर्ताले निकै विचार पुर्याउनुपर्ने हुन्छ । यहाँ सोही विषयहरुमा थप चर्चा गरिएको छ ।
बेच्ने कारणहरु
सेयर बिक्रीका लागि औचित्य प्रदान गर्न सक्ने ४ परिस्थितिहरु
१) लगानी सिद्धन्तमा परिवर्तन
जुन कारणले स्टक खरिद गरिएको थियो ती कारणहरु अब लागू नहुन सक्छन् । पहिलो त, कुनै स्टक किन किनिएको थियो भनेर लगानीकर्ताले आफैं जाँच गर्नुपर्दछ । र, जुन कारणले स्टक खरिद गरिएको थियो ती कारणहरु अझै मान्य छन् कि छैनन् भनेर लेखाजोखा गर्नुपर्दछ ।
प्रत्येक स्टकमा लगानी गर्नुको कारण वा लगानी थेसिस हुनुपर्दछ । तसर्थ, कुनै स्टक आफ्नो लगानी सिद्धान्तभन्दा बाहिर गायो भने उक्त स्टक बेच्ने एक कारण बन्न सक्दछ । यदि कम्पनी वा यसको सेयरमा महत्वपूर्ण पक्षमा परिवर्तन भयो भने बेच्न सकिन्छ ।
उदाहरणका लागि, प्रतिस्पर्धीसँग खरो नउत्रिँदा कम्पनीको बजार मूल्य घट्दैछ, उत्पादन बिक्री उल्लेखनीय रुपमा सुस्त भएको छ, कम्पनीको व्यवस्थापन परिवर्तन भएको छ र नयाँ व्यवस्थापकले लापरवाहीपूर्ण निर्णयहरु गरिरहेका छन् भने सेयर बिक्री गर्ने राम्रो वा उचित कारण हुन सक्छ । समग्रमा, आफ्नो लगानी सिद्धान्त भन्दा बहिर गएको स्टक बिक्री गर्नु उचित नै मानिएको छ ।
२) नगदको आवश्यक छ वा छिटै आवश्यक पर्नेवाला छ
सामान्यतयः केही वर्षभित्रै आवश्यक पर्न सक्ने कुनै पनि नगद बोकेर सेयर बजारमा लगानी नगर्नुलाई नै राम्रो अभ्यास मानिन्छ । तर यदि नगदको आवश्यकता नै पर्यो भने सेयर बेच्नु पक्कै पनि वैध कारण हुन्छ । कतिपय अवस्थामा लगानीको यात्रा योजना अनुसार नजान पनि सक्छ । आपतकालीन समयमा नगदै सबैभन्दा भरपर्दो साधन हुने भएकाले त्यस्तो परिस्थितिमा सेयर बेच्नु स्वाभाविक नै मानिन्छ ।
३) पोर्टफोलियो सन्तुलित बनाउन वा पुनर्संरचना गर्न
तपाईंको लगानी पोर्टफोलियो एक वा धेरै तरिकाले असन्तुलित हुन सक्छ । तसर्थ, समय–समयमा आफ्नो पोर्टफोलियोलाई पुनःसन्तुलित वा पुनर्संरचना गर्न आवश्यक हुन्छ । यस्तो अवस्थामा केही स्टक बेच्ने कार्य पनि समावेश हुन सक्छ । यसअन्तर्गत दुई सामान्य परिस्थितिहरु हुन सक्छन् ।
पहिलो उच्च प्रदर्शन गरिरहेको कम्पनीमा धेरै ठूलो स्वामित्व हुनु हो । राम्रो कम्पनीमा ठूलो स्वामित्व हुनु नराम्रो नभएपनि नाफामा केही हिस्सा बेच्नु भने स्वाभाविक हो । दोस्रो भनेको सेयरमा आफ्नो एक्सपोजर कम गर्न खाज्दै हुनुहुन्छ भने पनि सेयर बिक्री गर्नुलाई राम्रो मान्न सकिन्छ ।सेवानिवृत्ति वा अवकाशको नजिक पुग्दा स्टक होल्डि क्रमशः घटाउँदै बन्डहरु जस्ता सुरक्षित लगानीहरुमा जानु बुद्धिमानी हुन्छ ।
कतिपयले आफ्नो उमेर अनुसार लगानी पोर्टफोलियोमा हुनुपर्ने सेयरको हिस्सा अनुमान गर्न ११० अंकमा आफ्नो उमेर घटाउने गरेका छन् । त्यसरी घटाउँदा जति अंक आउँछ त्यति नै स्टकको हिस्सा हुनुपर्छ भन्ने साधारण सूत्र रहेको छ । यता, पोर्टफोलियोकोे अधिकांश हिस्सा स्टकले मात्र ओगटेको छ भने अन्य उपकरणमा लगानी विविधीकरण गर्नका लागि पनि केही स्टक बेच्नु राम्रो निर्णय हुन सक्छ ।
४) अन्यत्र लगानी गर्ने अवसरहरु पहिचान भएमा
आफूले पहिचान गरेका हरेक आकर्षक लगानी अवसरमा तत्कालै लगानी गर्नका लागि अतिरिक्त नगद कमैसँग मात्र हुन्छ । प्रत्येक राम्रा अवसरमा लगानी गर्न नगद नहुने भएकाले पुँजी जुटाउन आफ्नो पोर्टफोलियोमा भएको केही स्टक बच्नु स्वाभाविक मानिन्छ । तसर्थ, अन्य ठाउँमा उत्कृष्ट दीर्घकालीन लगानी अवसरलाई पहिचान गर्नुपनि सेयर बेच्ने वैध कारण हुन सक्छ ।
नाफाका लागि कहिले बेच्ने सेयर ?
माथि चर्चा गरिएका सबै बुँदा नाफाका लागि स्टक बेच्ने राम्रा कारणहरु हुन् । लगानीबाट नाफा कमाइसकिएको छ भने यसअघि चर्चा गरिएका सेयर बेच्ने कारणहरु थप जायज ठहरिन्छन् । तर सेयरको भाउ केही बढेकाले थोरै नाफा बुक गर्नका लागि मात्र बेच्नु त्यति राम्रो तरिका मानिंदैन । यसो गर्नाले दीर्घकालीन लाभको अवसरबाट वञ्चित हुनुपर्ने ठूलो सम्भावना हुने जानकारहरुले उल्लेख गरेका छन् ।
यता, कतिपय लगानीकर्ताले लगानी गर्दा ‘प्राइस टार्गेट’ रणनीति लागू गरेका हुन सक्छन् । कुनै सेयरले आफूले बिक्री गर्ने भनेर निर्धारण गरेको मूल्य छोएमा त्यस्तो सेयर बिक्री गर्नुलाई पनि उचित मानिएको छ ।
घाटा हुँदा पनि कस्तो बेलामा मात्र बेच्ने ?
सामान्यतयः सेयरको भाउ केही घट्यो भन्दैमा बेचिहाल्नु सबैभन्दा खराब निर्णय मानिन्छ । नोक्सानमा स्टक बेच्नुपर्ने उपयुक्त कारणहरुमा भारी इन्साइडर कारोबार हुनु, नाफा र आय पूर्वानुमानमा व्यवस्थापन पक्षको संशोधन, लाभांशमा कटौती र उल्लेखनीय मात्रामा नियामकीय कारवाही वा जरिवाना जस्ता आधारभूत परिवर्तनहरु समावेश हुन सक्छन् ।
कहिलेकाँही थप ठूलो नोक्सानको भारी बोक्नु नपरोस् भनेर पनि थोरै घटामै सेयर बेच्नु जायज मानिन्छ । जसका लागि माथिका आधारभूत परिवर्तनहरु जाँचबुझ गर्नुपर्दछ । साथै, लगानीकर्ताले प्रत्येक लगानीका लागि स्टप–लस अर्डरको रुपमा तर्कसंगत र नियमहरुमा आधारित निकास योजना बनाउनुपर्ने जानकारहरु बताउँछन् ।
स्टप–लस यस्तो मूल्य हो, जसमा लगानीकर्ताले घाटा सीमित गर्न स्टक स्वतः बिक्रीका लागि राखेका हुन्छन् । लगानीकर्ताले लगानी गर्नुअघि नै स्टकको नाफा मार्जिन र घाटा कम गर्न स्टप लसको सीमा निर्धारण गर्नुपर्छ ।
कस्तो बेला सेयर बेच्नु हुँदैन ?
लगानीकर्ताले स्टक कस्तो बेलामा बेच्नु हुँदैन भन्ने कुरा स्पष्टरुपमा जान्न पनि निकै महत्वपूर्ण हुन्छ । यहाँ केही परिस्थितिहरुको सूची छ जसमा सेयर बेच्नु अनुचित मानिन्छ ।
–भाउ बढेको कारणले मात्रै कुनै पनि सेयर बेच्ने गर्नु हुँदैन । सेयरको भाउ कुनै कारणले मात्रै बढिरहेका हुन्छन् र अधिकांश समय बढ्दो अवस्थामा रहेका स्टकहरुले केही करेक्सनहरुका बाजुत पनि बढ्ने क्रमलाई जारी राखेका पनि हुन सक्छन् । तसर्थ, विज्ञहरुका अनुसार लगानीकर्ताले भाउ बढेकै आधारमा मात्र बिक्री गर्नु पनि उचित मानिंदैन ।
–साथै, भाउ केही घटेको कारणले मात्रै कुनै पनि सेयर बेच्ने गर्नु हुँदैन । घटेको भाउमा किन्ने र बढेको भाउमा बेच्ने हरेक लगानीकर्ताको चाहना हुन्छ । तर केवल मूल्य केही घटेकै कारणले हतारिए बिक्री गर्नु भनेको यस्तो चाहनाको ठीक विपरीत कार्य हो, जसले दीर्घकालमा अनि आर्थिकरुपमा हानी गर्न सक्छ ।
–करमा पैसा जोगाउन मात्र पनि स्टक बेच्नु हुँदैन । ‘ट्याक्स लस हार्भेस्टिङ’ को रुपमा चिनिने यस रणनीतिले लाभ नहुने स्टक पोजिसनहरुमा घाटा व्यहोर्दै तपाईंको करयोग्य पुँजीगत लाभ कम गर्न सक्छ । कर जोगाउने यो स्मार्ट रणनीति भए पनि कर रकम घटाउनकै लागि सेयर बेच्नुलाई खराब अध्यास मानिन्छ ।
Comments
Post a Comment