५ वटा बैंकको मात्र प्रतिसेयर आम्दानी २० रुपैयाँ माथि, सबैभन्दा धेरै एनआइसी एसियाको
काठमाडौं : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म आइपुग्दा एनआइसी एसिया बैंकको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै देखिएको छ । वैशाखसम्म यस बैंकको इपीएस ३७ रुपैयाँ ९९ पैसा (वार्षिकीकरण नगरिएको) रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यसको उक्त आम्दानी ४६ रुपैयाँ ७६ पैसा (वार्षिकीकरण) रहेको थियो ।
एनआइसी एसियाको नाफामा आएको वृद्धिका कारण प्रतिसेयर आम्दानी पनि बढेको हो । यस अवधिसम्म यसले ४ अर्ब ३९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यसको चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ छ । त्यसो त, यस बैंकले पछिल्ला २ आर्थिक वर्षमा सेयरधनीलाई कुनै लाभांश वितरण गरेको छैन । यसको चुक्ता पुँजी पनि २ वर्षदेखि यथावत नै छ ।
एनआइसी एसियाको क्यापिटल पर्याप्तता नपुगेको कारण राष्ट्र बैंकले यसलाई लाभांश वितरणमा रोक लगाएको थियो । जसका कारण बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको हो । विवरण अनुसार ५ वटा बैंकको मात्रै प्रतिसेयर आम्दानी २० रुपैयाँ भन्दा धेरै छ । दोस्रोमा, स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ५५ पैसा छ ।
चुक्ता पुँजी सबैभन्दा कम रहेको यस बैंकले वैशाख मसान्तसम्म २ अर्ब ७८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । अन्य बैंकहरुको तुलनामा पुँजी कम भएपनि यसको ग्रोथ भने निकै राम्रो रहेको छ । जसले गर्दा यसको इपीएसमा पनि वृद्धि देखिएको छ । २० अर्ब भन्दा धेरैको चुक्ता पुँजी रहेका बैंकहरुले प्रतिसेयर आम्दानी बढाउन धेरै कसरत गरेपनि तुलनात्मक रुपमा कम नै देखिएको छ ।
तर, वैशाख मसान्तसम्मको खुद मुनाफा अनुसार कम पुँजी भएका बैंकहरुको प्रतिसेयर आम्दानी भने धेरै छ । १५ अर्ब भन्दा कम पुँजी भएका बैंकहरुको प्रतिसेयर आम्दानी धेरै छ । राष्ट्र बैंकको दबाबले मर्जर तथा एक्विजिसन प्रक्रियामा गएपछि वाणिज्य बैंकहरुको संख्या २८ बाट घटेर अहिले २१ मा झरेको छ । मर्जर प्रक्रियामा रहेका सनराइज र लक्ष्मी बैंकले एकीकृत कारोबार थालेपछि बैंकहरुको संख्या २० मा आउनेछ ।

Comments
Post a Comment